काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई लक्षित गर्दै तीव्र प्रहार गरेका छन्। उनले आफू एक्लै रास्वपाका २० सांसदभन्दा बढी प्रभावकारी र जनकल्याणकारी काममा संलग्न भएको दाबी गरे।
प्रतिनिधिसभाको सोमबारको विशेष समयमा बोल्दै सांसद बजगाईंले रास्वपाका गतिविधिहरूलाई ‘नाटक, प्रचार र षड्यन्त्र’को संज्ञा दिँदै तीव्र आलोचना गरे।
“इंगित गरेरै भन्छु—म पुरानो पार्टीको भए पनि तपाईंहरू जस्तै नयाँ प्रतिनिधि हुँ। फरक के भने तपाईंहरू २० जना भएर पनि आडम्बरमा व्यस्त हुनुहुन्छ, म एक्लै भएर पनि जनकल्याणमा तल्लिन छु,” उनले भने।
सांसद बजगाईंले रास्वपाका नेताहरूमाथि धर्मग्रन्थको व्यङ्ग्यमार्फत कटाक्ष गर्दै भने, “तपाईंहरू हामीलाई अस्थिरता र निराशातर्फ धकेलिएको आरोप लगाउँदै हुनुहुन्छ। तर यो देश हस्तिनापुर होइन, तपाईंका भगवान धृतराष्ट्र होलान् तर हामी लोकतान्त्रिक प्रणालीका विश्वासी छौं।”
बजगाईंले अदालतको पुर्पक्ष आदेशपछि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि पनि प्रश्न उठाउँदै भने, “एकजना नेता सहकारी ठगी मुद्दामा पुर्पक्षमा थुनामा हुनुहुन्छ, र उहाँ जेलभित्रै हुँदा पोखराबाट जुलुस निकालिन्छ, हस्ताक्षर अभियान चलाइन्छ—यो त सरासर अदालतको अवहेलन हो।”
उनले सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहितालाई बेवास्ता गर्नु लोकतन्त्रप्रति असहिष्णुता भएको बताए।
बजगाईंले रास्वपाले देश विकासको कुनै स्पष्ट दृष्टिकोण नदेखाएको आरोप लगाए। “आजसम्म तपाईंहरूको तर्फबाट देश विकासको ठोस योजना आएको छैन। केवल सत्ता प्राप्तिमा केन्द्रित षड्यन्त्र र प्रचारबाजीमा व्यस्त देखिन्छ पार्टी,” उनले भने।
उनले रास्वपाले प्रयोग गरिरहेको ‘पर्ख, २०८४ मा देखाउँछौँ’ भन्ने भाषालाई चरम राजनीतिक अतिवादको प्रतीकका रूपमा उल्लेख गरे। “यो शैली मिस्रको मुस्लिम ब्रदरहुडजस्तै चरमपन्थी देखिन्छ, जुन लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खाँदैन,” उनले चेतावनी दिए।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया