काठमाडौं । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण थालेको थियो । तर सहयोग जुट्ने अवस्था नरहेको भन्दै फाउन्डेसन कामबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर फेरि काम सुरु गरेको हो ।

महानगरले स्वामित्व लिएपछि गत वर्षको असार २३ गते निर्माण कम्पनीसँग ३० महिनाभित्र काम सक्ने गरेर सम्झौता भयो । सम्झौताको वर्ष दिन बित्दा भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत हाराहारीमा भएको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको उत्तर र दक्षिणतर्फ दुईटा टावर रहने छन् । उत्तरतिरको टावरको भुईंतला ढलानका लागि अहिले जोडतोडले काम भइरहेको छ ।

advertisement

‘सम्झौता भएको वर्ष दिन पूरा भयो । फाइनाइन्सियल प्रगति २६र२७ प्रतिशत हाराहारीमा छ । भौतिक प्रगति ३२ प्रतिशत पार भएको छ,’ निर्माण कम्पनीको तर्फबाट कार्यरत प्रोजेक्ट इन्जिनियर धर्मेन्द्र गुप्ताले बताए । १६ हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निमाण भइरहेको छ । टावर र प्यारापिट निर्माणको काम अगाडि बढे पनि मैदानको काम सुरु भएको छैन ।

उत्तरतर्फ रहेको टावरको ढलान केही दिनमै हुने गुप्ताले बताए । त्यसपछि लगत्तै दक्षिणतर्फको टावर ढलान पनि हुनेछ । उत्तरतर्फको टावरमा भीभीआईपी र मिडिया बक्स रहनेछ । दक्षिणतर्फको टावरमा खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनसँग सम्बन्धित व्यक्ति रहनेछन् । यी दुवै टावर तीन तलाका हुनेछन् । अहिले भुईंतलाको ढलान सुरसार हुँदै छ ।

भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको हो । यसको निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रहेको छ ।

२०७५ सालको माघ १६ गते चितवन रामपुरमा क्रिकेट रंगशाला बनाउने विषयमा काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जमिनमा रंगशाला बन्न लागेको हो ।

 

 

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com