विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवासलाई राजनीतिक गुटको केन्द्रको रूपमा नभई नेपाली कांग्रेसका लागि साझा र पवित्र स्थलका रूपमा लिन आग्रह गरेका छन्।
बुधबार बिहान विराटनगर पुगेका खाँणले कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइराला परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान अतुलनीय रहेको बताए। उनले भने, “कोइराला निवास कुनै गुटको होइन, हामी कांग्रेसका कार्यकर्ताहरूको लागि यो एउटा पवित्र भूमि हो, धार्मिक स्थलमा पुगेको जस्तो अनुभव हुन्छ।”
उनले बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान स्मरण गर्दै तिनीहरू आम जनताको मनमा प्रातःस्मरणीय महामानवका रूपमा बसिसकेको बताए।
खाँणले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वलाई सफल बनाउन सबै नेता र कार्यकर्ताले एकजुट हुनुपर्नेमा पनि जोड दिए। उनले भने, “सभापति सफल भए पार्टी सफल हुन्छ भन्ने बुझ्न जरुरी छ।”
महाधिवेशनसम्बन्धी प्रश्नमा उनले पार्टी विधानअनुसार आवश्यक परे एक वर्षसम्मको समय थप गरेर महाधिवेशन गर्न सकिने प्रावधान रहेको स्पष्ट पारे। उनले १४औं महाधिवेशन पनि एक वर्ष ढिला गरेर गरिएको उदाहरण दिँदै १५औं महाधिवेशन समयमै हुने विश्वास व्यक्त गरे।
आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले हाल आफू केन्द्रीय समितिमा रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा क्रियाशील रहेको बताए। “नेता चयन गर्दा गुटभन्दा माथि उठेर विचार गर्नुपर्छ,” उनले भने।
सरकारको कामबारे टिप्पणी गर्दै खाँणले अहिलेको संसदको संरचनाले कुनै एक दलको एकल बहुमत नआएको अवस्थामा गठबन्धन अपरिहार्य भएको बताए। कांग्रेस–एमाले गठबन्धनको सन्दर्भमा उनले विगतमा पनि यस्ता सहकार्यहरू भइसकेको स्मरण गराउँदै यसलाई अस्वाभाविक मान्न नहुने बताए।
उनले सरकारका केही कार्यक्रमहरूको प्रशंसा गर्दै ‘पढ्दै कमाउँदै’ योजना र हरित हाइड्रोजन उत्पादनको पहल सकारात्मक भएको बताए। “गठबन्धनभित्रबाटै सरकारका कमजोरी सच्याउने प्रयास भइरहेको छ,” उनले भने, “यो गठबन्धनलाई २०८४ सालको आमनिर्वाचनसम्म निरन्तरता दिनुपर्ने आवश्यकता छ।”
पार्टी अनुशासन समितिले गरेको पछिल्लो कारबाहीबारे सोधिएको प्रश्नमा उनले निर्णय प्रक्रियागत रूपमा भएको बताउँदै त्यसबारे केन्द्रीय समितिले आवश्यक छलफलपछि निर्णय लिने जानकारी दिए।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया