विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेपछि कांग्रेस भित्रको आन्तरिक राजनीति फेरि तातेको छ। लामो समयसम्म सभापति शेरबहादुर देउवाका निकट मानिँदै आएका खाँणको कोइराला निवासमा उपस्थिति शक्तिशाली सन्देशका रूपमा हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सार्वजनिक जीवनबाट केही टाढिएका खाँण पछिल्लो समय सक्रिय हुन थालेका छन्। देउवासँगको सम्बन्ध चिसिँदै गएको बेला खाँणको कोइराला निवास पुग्नु र त्यहाँ पत्रकार सम्मेलन गर्नुले उनी डा. शेखर कोइराला नेतृत्वको इतर समूहमा प्रवेश गर्ने संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

advertisement

यही निवास कृष्णप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको बसोबास र राजनीतिक गतिविधिको केन्द्र रहँदै आएको थियो। हाल यसै घरमा बस्दै आएका डा. शेखर कोइराला कांग्रेसभित्र इतर धारको नेतृत्व गरिरहेका छन्।

पत्रकार सम्मेलनमा खाँणले औपचारिक रूपमा गुट परिवर्तनको घोषणा नगरे पनि उनका भनाइहरूबाट शेखर समूहप्रति स्पष्ट झुकाव देखिएको थियो। उनले भने, “यो निवास कुनै गुट विशेषको केन्द्र होइन, नेपालका महामानव नेता कोइरालाहरूको योगदानले पवित्र बनेको ठाउँ हो।” उनले कोइराला परिवारको ऐतिहासिक योगदानको चर्चा गर्दै कोइराला निवासलाई “धार्मिक स्थलझैँ पवित्र स्थल”को संज्ञा दिए।

पार्टीको महाधिवेशनबारे पत्रकारको जिज्ञासामा खाँणले कांग्रेस विधानले विशेष परिस्थितिमा एक वर्षको अवधि थप गरी पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने प्रावधान रहेको जानकारी दिए। पार्टीभित्रको अनुशासन र कारबाहीबारे पनि उनले खुला टिप्पणी गर्दै भने, “अनुशासनका विषयमा कुरा उठ्नु स्वाभाविक हो, तर पार्टीको जिम्मेवार निकाय निष्पक्ष र न्यायोचित ढंगले अघि बढ्नुपर्छ।”

सभापति देउवासँगको दूरी बढेको भन्ने प्रश्नमा उनले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि पार्टी बलियो बनाउन सबै नेताले सहकार्य गर्नुपर्ने धारणा राखे। “कांग्रेस कमजोर भयो भने केवल पार्टी होइन, मुलुकको प्रजातान्त्रिक संरचना नै कमजोर हुनेछ,” उनले स्पष्ट रूपमा भने।

खाँणको यो सक्रियता र शेखर निवासमा देखिएको उपस्थिति कांग्रेसको आगामी महाधिवेशनसँग जोडेर विश्लेषण हुन थालेको छ। राजनीतिक समीक्षकहरूका अनुसार, खाँणको यो कदम कांग्रेसको शक्ति सन्तुलनमा महत्वपूर्ण मोड ल्याउन सक्ने सम्भावना छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com