काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई डेंगी रोग नियन्त्रणका लागि लार्भारहित बनाउने अभियानमा सक्रिय हुन आह्वान गरेका छन्।
बुधवार आयोजित ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगुको जोखिम घटाउन सरसफाई र सचेतनालाई प्राथमिकता दिनुपर्ने बताए। उनले डेंगु संक्रमण फैलिने आधारहरू जस्तै पानी जम्ने खाल्डा, खुला अवस्थामा राखिएका निर्माण सामग्री र टायरहरूनष्ट गर्न तत्काल सरसफाई अभियान सुरु गर्न आग्रह गरे।
“साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगुको संक्रमण दर उच्च हुने भएकाले यो अवधिमा कुनैपनि निर्माण कार्य नगर्नु, खाल्डा नखन्नु, फालिएका टायर व्यवस्थापन गर्नु र पानी जम्ने स्थानहरू पुर्नु आवश्यक छ,” मन्त्री पौडेलले भने।
उनले सरकारी कार्यालयहरूलाई डेंगु फैलिन नदिनको लागि उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै भने, “यदि सरकारी कार्यालयहरू सुरक्षित भए, दर्जनौं नागरिकलाई डेंगुबाट जोगाउन सकिन्छ।”
डेंगु नियन्त्रणका लागि जनस्तरमा व्यापक सचेतना आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले हरेक शुक्रबार (साउनदेखि कार्तिकसम्म) विशेष सरसफाई अभियान सञ्चालन गर्न आग्रह गरे।
“पहिले आफू बसेको ठाउँ सुरक्षित बनाउनुपर्छ, तब मात्र अरुलाई सहयोग गर्न सकिन्छ,” भन्दै उनले सबै सरकारी कर्मचारी, निकाय र संघसंस्थालाई डेंगु रोकथाममा जिम्मेवारीपूर्वक सहभागी हुन अपिल गरे।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया