काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निजी वेबसाइट सार्वजनिक गरेकी छन्। नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः फर्किएसँगै उनले आफ्नो सार्वजनिक जीवन, राजनीतिक अनुभव र योगदानलाई समेटिएको वेबसाइट सार्वजनिक गरेकी हुन्।
नवप्रस्तुत वेबसाइटमा भण्डारीको सार्वजनिक भूमिकाबाट लिएर राष्ट्रपतिका रूपमा निर्वाह गरेका दायित्वहरू, अन्तर्राष्ट्रिय मञ्चमा देखिएको उपस्थिति, विचारहरू, अभिव्यक्तिहरू तथा महत्वपूर्ण तस्बिरसहितका स्मृतिहरू समावेश छन्।
वेबसाइट सार्वजनिक गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यो वेबसाइट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यको संरक्षण, समावेशी राजनीतिको प्रवर्द्धन, लैङ्गिक समानता र समाजवाद उन्मुख मार्गचित्रमा उनले पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भ योग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो।”
वेबसाइटमार्फत भण्डारीको दीर्घ राजनीतिक यात्रा तथा विचारधारात्मक पहिचानबारे जानकारी हासिल गर्न सकिनेछ। साथै, यसले नयाँ पुस्तालाई प्रेरणा र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत बन्ने अपेक्षा लिइएको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया