काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि साउनदेखि कात्तिकसम्म चार महिना कुनै पनि निर्माण कार्य नगर्न प्रस्ताव गरेका छन्।

बुधबार ‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले सबै सरकारी तथा निजी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा सक्रिय सहभागी हुन आग्रह गरे।

advertisement

“साउनदेखि कात्तिकसम्म निर्माण सामग्री यत्रतत्र फाल्ने, खाल्डाखुल्डी पार्ने, पानी जम्ने स्थान बनाउने काम नगर्नुस्,” मन्त्री पौडेलले भने, “यदि कतै पानी जमेको छ भने तत्काल हटाउनुहोस्।”

मन्त्री पौडेलले डेंगुको लार्भा उत्पादन हुने क्षेत्रलाई नष्ट गर्न सरसफाइ अभियान सुरु गर्नुपर्नेमा जोड दिए। विशेषगरी प्रयोग नभएका टायर जस्ता वस्तुहरूको उचित व्यवस्थापन आवश्यक भएको उनको भनाइ थियो।

उनले डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउनु महत्वपूर्ण रहेको बताउँदै भने, “व्यक्तिमा चेतना फैलाउन सके डेंगु नियन्त्रण सम्भव छ। अभियानलाई संयुक्त प्रयासमा अघि बढाउनु जरुरी छ।”

डेंगुबाट जोगिन प्रत्येक व्यक्ति स्वयं सचेत हुनुपर्ने बताउँदै उनले आफैँ बसेको स्थानलाई लार्भारहित बनाउन आग्रह गरे।

उनले साउनदेखि कात्तिकसम्म हरेक शुक्रबार सामूहिक रूपमा प्रभावकारी सरसफाइ अभियान सञ्चालन गर्न सबैलाई अनुरोध गरे।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com