काठमाडाैं । भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले आजको जटिल युद्ध परिदृश्यमा हिजोका हतियार र प्रविधिले विजय हासिल गर्न नसकिने स्पष्ट पारेका छन्।
दिल्लीमा आयोजित ‘यूएभी र काउन्टर-यूएएस’ सम्बन्धी प्रदर्शनीमा बोल्दै उनले भविष्यका युद्धहरू जित्न ‘आधुनिक र स्वदेशी प्रविधि’ मा आधारित सुरक्षा प्रणाली निर्माण अपरिहार्य भएको बताए।
“यदि भारतले युद्धभूमिमा अग्रता कायम राख्न चाहन्छ भने हामीलाई भविष्यको प्रविधिले सुसज्जित हुन आवश्यक छ,” चौहानले भने, “हिजोको प्रविधि आजका युद्धका लागि पर्याप्त छैन।”
सीडीएस चौहानले विदेशी प्रविधिमा निर्भरता भारतको सुरक्षालाई कमजोर बनाउने भन्दै आत्मनिर्भरताको पक्षमा जोड दिए। “हाम्रो मिशनका लागि अत्यावश्यक प्रविधिमा विदेशी निर्भरता हामीलाई कमजोर बनाउँछ,” उनले स्पष्ट पारे।
पाकिस्तानसँगको ‘अपरेसन सिन्दूर’ उल्लेख गर्दै उनले त्यस अवधिमा प्रयोग भएका सशस्त्र र असशस्त्र ड्रोनहरूमध्ये धेरैलाई भारतीय पक्षले खसाल्न सफल भएको बताए। “हामीले आगामी युद्धहरूमा ड्रोनको भूमिकालाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।
उनले युद्ध प्रविधिमा समयानुकूल भएका परिवर्तनहरूको चर्चा गर्दै ट्याङ्क, विमानजस्ता युद्ध उपकरणहरू पहिलेभन्दा हलुका, छिटो, सुरक्षित र प्रभावकारी भएका बताए।
“अब हामीले ड्रोन र काउन्टर-ड्रोन प्रविधिमा पनि त्यही प्रकारको आधुनिकता र बहुआयामिक उपयोग सुनिश्चित गर्नुपर्छ,” चौहानले जोड दिए।
-एजेन्सी
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया