काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तीनवटै तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले तीनै तहको सरकारको कार्यक्षेत्रमा विपद् व्यवस्थापन पर्ने भएकाले आपसी समन्वयमा जोड दिए। “हामी उच्च जोखिमयुक्त भौगोलिक क्षेत्रमा छौं,” उनले भने, “विपद्को सामना गर्न तीनवटै तहबीच प्रभावकारी सहकार्य आवश्यक छ।”
उनले सातै प्रदेशमा निर्माण भएका आपत्कालीन गोदामहरू मध्ये छ वटा प्रदेश सरकारलाई सञ्चालन जिम्मा दिइएको जानकारी दिए। “काठमाडौंको गोदाम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रहनेछ,” मन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले नागरिकसँग सबैभन्दा नजिक रहने स्थानीय सरकारलाई विपद् व्यवस्थापनमा अझ सक्षम बनाउने उद्देश्यले पालिकास्तरमै गोदामहरू स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले विपद् पूर्व सूचनादेखि खोज, उद्धार र पुनःस्थापनासम्मका सबै चरणमा सहकार्य र समन्वय जरुरी रहेको उल्लेख गरे।
विपद्को समयमा गोदामबाट राहत सामग्री उपयोग गर्दा देखिएको झन्झटलाई घटाउन गोदामहरूको सञ्चालन अधिकार प्रदेश सरकारलाई दिइएको उनको भनाइ थियो।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया