काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको सुविधा र पहुँचलाई ध्यानमा राख्दै केन्द्रीय सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायमै राखिने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमाको नयाँ व्यवस्थाले सेवा लिन कठिनाइ भएका स्थानहरूमा वैकल्पिक व्यवस्था नभएसम्म केन्द्रीय अस्पतालमै पुरानै प्रणाली यथावत् रहने बताएका हुन्।
हालै स्वास्थ्य बीमा बोर्डले पहिलो सेवा बिन्दुको व्यवस्था निजी तथा सरकारी अस्पतालहरूबाट हटाएर स्थानीय तहमा मात्र सीमित गर्ने निर्णय गरेको थियो। तर यस कदमले धेरै स्थानका नागरिकलाई उपचारमा थप अप्ठेरो परेको गुनासो आएपछि सरकारले पुनः समायोजनको तयारी गरेको हो।
मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै, सेवा लिन अप्ठ्यारो पर्ने स्थानहरूमा केन्द्रीय सरकारी अस्पतालमा नै सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ।”
उनले बीमा सेवाको पहुँच बढाउने उद्देश्यसहित प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा बिन्दु स्थापनाको नीति अघि सारिएको स्पष्ट पारे। यसका लागि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै नयाँ सेवा केन्द्र स्थापना तथा विद्यमान संस्थाहरूको स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइने उनले बताए।
“स्वास्थ्य बीमा कार्यक्रमको दीगो विकास, सुधार र विस्तारका लागि सरकार निरन्तर प्रयत्नशील छ,” मन्त्री पौडेलले भने, “यस कार्यमा प्राप्त हुने सल्लाह, सुझाव र आलोचना पनि हामीले स्वागत गर्दछौँ।”
स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता बढाउन र नागरिकले सजिलै सेवा पाउने व्यवस्था गर्न मन्त्री पौडेलको उक्त निर्णयलाई सकारात्मक पहलको रूपमा लिइएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया