काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लामो समयपछि एउटै मञ्चमा देखिएका छन्।

महानगरको नगरसभा अन्तर्गत १७औँ अधिवेशनको पहिलो र दोस्रो बैठकका क्रममा राष्ट्रिय सभागृहमा तीनै जना एकै थलोमा उभिएका हुन्।

advertisement

हाल नगरसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल चलिरहेको छ। बैठकको क्रममा उपमेयर डंगोल र मेयर शाहबीच सामान्य संवाद भए पनि शाह र गुरागाईंबीच भने कुनै पनि प्रकारको कुराकानी हुन सकेन। एउटै मञ्चमा बसे पनि उनीहरूबीचको तिक्त सम्बन्ध स्पष्ट देखिएको थियो।

पछिल्लो समय मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि काठमाडौं टावरको नक्सा स्वीकृति प्रक्रियामा अनियमितता गरेको आरोप लगाउँदै आएका छन्। विशेषतः नीतिगत प्रक्रिया नपु¥याई नक्सा पास गरेको आरोपपछि उनीहरूबीचको सम्बन्ध चिसिएको हो।

शाहले गुरागाईंसँग बैठकमै बस्न अस्वीकार गरेपछि उपमेयर डंगोल र प्रवक्ता नवीन मानन्धरमार्फत विवाद समाधानको प्रयास गरिएको थियो। तर, ती प्रयास निष्फल बनेका थिए।

महानगरपालिकाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ। यही कारणले मेयर शाह बैठकमा सहभागी हुन बाध्य भए पनि गुरागाईंसँग संवाद भने नगरेको महानगर स्रोतले जानकारी दिएको छ।

“सबै प्रक्रिया पूरा भइसकेका छन्, निर्णयहरू गरिएका छन्,” स्रोतले भन्यो, “तर, व्यक्तिगत रूपमा सम्बोधन गर्न नमिल्ने भनेको हो, पदसँग असहमत भएकाले होइन।”

मेयर शाहले गत असार २७ गते कार्यपालिका बैठक आह्वान गरेका थिए। बैठकको कार्यसूचीमा २४ वटा एजेन्डा समावेश भए पनि उनले पहिलो एजेन्डा–बजेट प्रस्ताव मात्र प्रस्तुत गर्दै बैठक ४५ सेकेन्डमै टुंग्याएका थिए। त्यहाँ पनि गुरागाईंप्रति कुनै प्रतिक्रिया दिएनन्।

नगरसभाको पहिलो बैठकमा उपमेयर डंगोलले बजेट ढिलो पेस भएकामा क्षमा याचना गर्दै सबै पक्षलाई साथ दिन आग्रह गरेकी थिइन्। मेयर शाहले पनि सबै कार्यपालिका सदस्यको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

यद्यपि, कानुनी प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्छ। तर, आन्तरिक विवादका कारण काठमाडौं महानगरपालिकाले त्यो म्याद गुजारेको हो।

अब बजेट पारित हुने प्रक्रिया अगाडि बढे पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको मनमुटाव भने अझै समाधान हुन सकेको छैन।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com