काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीमाथि उठेका भ्रष्टाचार आरोपप्रति सरकार र सत्तारूढ शक्ति मौन रहेको भन्दै तीव्र आलोचना गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै यादवले मन्त्री अधिकारीको राजीनामा माग नगरी सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका हुन्।
यादवले पोखराको जग्गा प्रकरणमा सामान्य प्रशासन मन्त्री रहेका मधेस मूलका राजकुमार गुप्तालाई राजीनामा दिन बाध्य पारिएको तर त्यसै प्रकरणमा मुछिएका भूमि मन्त्री बलराम अधिकारीलाई जोगाइएर राखिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गरे पनि छुट छ।”
यादवले अडियो प्रकरणमा बलराम अधिकारी, राजकुमार गुप्ता र अन्य व्यक्तिहरूको संलग्नता स्पष्ट भएको दाबी गर्दै प्रमाणहरू मिडियामै छ्यापछ्याप्ती रहे पनि अधिकारीमाथि कारबाहीको चर्चा नहुनु गम्भीर अन्याय भएको बताए।
“गुप्ताजी मधेसी भएकाले उनलाई हटाइयो। यदि बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले राजीनामाको आदेश दिन एकछिन पनि कुर्थेनन्,” यादवले लेखेका छन्।
उनले सत्ताका संरक्षक ‘बा’ ले सगोत्रीहरूलाई जोगाउने र उत्पीडित समुदायका नेताहरूलाई सजिलै बलिको बाख्रा बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने पनि बताएका छन्।
मन्त्री बलराम अधिकारी पोखराको १३५ रोपनी जग्गा प्रकरणमा घुस लिएको अडियो सार्वजनिक भएपछि आलोचना खेपिरहेका छन्। त्यसै प्रकरणमा संलग्नता देखाउँदै राजकुमार गुप्ताले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया