काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकास सरकारको मात्र होइन, सबै नागरिक र सरोकारवालाको साझा जिम्मेवारी भएको बताएका छन्।
बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाट सुरु गर्नुपर्ने धारणा राखे।
“ऊर्जा क्षेत्रलाई सबै नागरिकले अनुभूत गर्न सक्ने गरी अघि बढाउनु आवश्यक छ,” मन्त्री खड्काले भने, “समृद्धि त्यहाँ पुग्नुपर्छ, जहाँ अझै खान नपुग्ने अवस्था छ। ऊर्जा पहुँचका माध्यमबाट त्यो सम्भव छ।”
उनले वर्तमान सरकारले ऊर्जा क्षेत्रमा विगतमा भएका कार्यहरूको मूल्यांकन गर्दै परिमार्जन र सुधारमा ध्यान दिएको उल्लेख गरे।
“विगतका कामको जगमा परिमार्जन गरिएको छ र अझ सुधार आवश्यक छ,” मन्त्री खड्काले भने, “ऊर्जा आयोजना निर्माणका क्रममा अकल्पनीय क्षति हुने गरेका छन्, अब क्षति न्यूनीकरणका लागि विशेष ध्यान दिनुपर्ने समय आएको छ।”
उनले ऊर्जा क्षेत्रको समावेशी विकासमा जोड दिँदै आर्थिक हैसियत, जात, भूगोल वा क्षेत्रका आधारमा कसैलाई पनि पछाडि नपार्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए।
“ऊर्जा केवल हुनेहरूको सम्पत्ति मात्र होइन, नहुनेको घरमा पनि उज्यालो पुगोस् भन्ने सोचबाट अघि बढ्नुपर्छ,” उनले स्पष्ट पारे, “समाजवाद भनेकै यही हो — सबैलाई साथमा लिएर अगाडि बढ्ने बाटो।”
मन्त्री खड्काले अझैपनि सबै घरधुरीमा विद्युत पुग्न नसकेको स्वीकार्दै ‘सबै चुल्होमा उज्यालो’ पुर्याउने सरकारको दृढ लक्ष्य रहेको बताए।
कार्यक्रममा उनले ऊर्जा क्षेत्रको दीगो विकासका लागि निजी क्षेत्र, विज्ञ, राजनीतिक नेतृत्व र आम जनताको साझा पहल अपरिहार्य रहेको धारणा राखे।
“सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन,” उनले भने, “ऊर्जा समृद्धिको मेरुदण्ड हो, यसको विकासमा ढिलाइ गर्न सकिन्न।”
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया