काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै भ्रष्टाचारमा संलग्न आफ्ना नजिकका व्यक्तिहरूलाई उन्मुक्ति दिने प्रवृत्तिको आलोचना गरेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता गरेको भोलिपल्ट बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यादवले हालै सार्वजनिक भएका घुस प्रकरणहरूलाई लिएर ओलीमाथि तीव्र प्रहार गरेका हुन्।

advertisement

यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस मागेको अडियो सार्वजनिक भइसके पनि प्रधानमन्त्री ओली मौन बसेको उल्लेख गर्दै भने, “ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्रीलाई जे गरे पनि छुट छ।”

यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ७८ लाख घुस प्रकरण बाहिरिएपछि तीव्र आलोचनाको सामना गर्नुपरेपछि मात्रै गुप्तालाई राजीनामा दिन बाध्य पारिएको यादवको भनाइ छ। उनले गुप्तामाथि कारबाही हुनुको मुख्य कारण जातीय पूर्वाग्रह रहेको आरोपसमेत लगाए।

“गुप्ता मधेस मूलका भएकै कारण उनलाई हटाइयो, यदि उनी ओलीका सगोत्री भएको भए अझै ठूलो भ्रष्टाचार गरे पनि पदमै रहन्थे,” यादवले लेखे।

यादवका अनुसार बलराम अधिकारी र गुप्ता एउटै प्रकरणमा मुछिएका भए पनि एकजनामाथि कारबाही र अर्कामाथि मौनता देखाउनु ओली नेतृत्वको दोहोरो मापदण्डको प्रमाण हो।

उनले प्रश्न उठाउँदै भने, “यदि बलराम अधिकारीको स्थानमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायका व्यक्ति मन्त्री भएका भए, के ओलीले यति समय कुर्थे?”

गुप्ता र अधिकारी दुवै नेकपा एमालेका मन्त्री हुन्। हाल सार्वजनिक अडियोमा पोखराको १३५ रोपनी जग्गा प्रकरणमा मन्त्रीहरू, सचिव र बिचौलियाबीच करोडौंको घुस लेनदेन भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीमाथि ‘सगोत्री संरक्षण’ र जातीय विभेदको आरोप लागिरहँदा प्रधानमन्त्री कार्यालय भने यसबारे औपचारिक रूपमा मौन छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com