काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणहरू परिणाममुखी र उत्तरदायित्वयुक्त हुनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्ता भ्रमणबाट के सिकियो र व्यवहारमा के लागू गरियो भन्ने मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याए।
“जनताको कर प्रयोग गरेर गरिने विदेश भ्रमणपछि कुनै प्रतिफल नदेखिने गुनासो आम रूपमा आउँछ,” उनले भने, “विदेशबाट के सिक्यौं, र त्यो सिकाइलाई के–कसरी कार्यान्वयन गर्यौं भन्ने अध्ययन गर्न जरुरी छ। अब त्यो भाष्य चिर्नुपर्छ।”
सांसद नेम्वाङले हालको संसदीय अभ्यास निराशावाद र नकारात्मकतामा सीमित हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले संसदमा उठाइने विषयवस्तु जनताले स्पष्ट रूपमा बुझ्न पाउने गरी प्रस्तुत गर्नुपर्ने धारणा राखे। “महत्त्वपूर्ण विषयवस्तु संसदमा स्पष्ट रूपमा प्रस्तुत हुनुपर्छ,” उनले भने, “कानुनलाई जीवन्त बनाउने जिम्मेवारी हामी सबैको हो।”
बेलायतको संसदीय अभ्यासको अनुभव उपयोगी भए पनि नेपालको भूगोल, समाज र जनअपेक्षाअनुसार नीति बनाइनु पर्नेमा नेम्वाङको जोड थियो। उनले बेलायती अभ्यास हुबहु नेपालमा लागू गर्न सकिँदैन भन्नुको साथै, त्यहाँको विधि र कार्यशैलीबाट सिकेर सान्दर्भिक पक्ष अपनाउनु पर्ने बताए ।
“बेलायतको अभ्यास हामीले सिक्दै गएका छौं, तर हाम्रो सन्दर्भ फरक छ। हामीले आफ्नो माटो र जनताका अपेक्षाअनुसार काम गर्नुपर्छ,” सांसद नेम्वाङले स्पष्ट पारे।
बैठकमा नेपाल–बेलायत संसदीय सम्बन्ध थप सुदृढ गर्दै दुवै देशका अभ्यासहरूबाट आपसी लाभ लिने विषयमा पनि छलफल भएको थियो।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया