काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले सबैभन्दा विश्वासिलो सम्बन्ध राख्ने बताएका छन्। वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको विशेष अन्तर्वार्तामा उनले यस्तो धारणा राखेका हुन्।
ओलीले आफ्नो प्रमुख राजनीतिक प्रतिस्पर्धी कांग्रेसलाई मान्दै पनि व्यक्तिगत स्तरमा देउवासँग आत्मीय सम्बन्ध रहेको उल्लेख गरे। “मेरो सबैभन्दा निकट र विश्वासको सम्बन्ध देउवाजीसँग छ,” ओलीले भने, “म त चाहन्छु यो सम्बन्ध सधैँ कायम रहोस्, तर देउवाजीले अन्यथा गरे परिस्थिति बदलिन सक्छ।”
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्धबारे भने ओली निकै कटु देखिए। उनले दाहाललाई बारम्बार धोका दिने व्यक्तिका रूपमा चित्रण गर्दै भने, “उहाँसँग स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो। कति पटक सहमति भयो, तर ती सबै अर्थहीन बने।”
ओलीले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो विरोधी नभएको दाबी गरे। उनले “माधवकुमार नेपाल मेरो विरोधी होइनन्, तर प्रतिस्पर्धा कांग्रेससँग हो,” भन्दै आफ्नो प्रतिस्पर्धात्मक राजनीति मुख्य रूपमा कांग्रेससँग मात्र रहेको बताए।
राजनीतिमा आफूलाई निर्मम नेता भन्ने आरोप अस्वीकार गर्दै ओलीले प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत आक्षेप नगर्ने स्पष्ट पारे। “व्यक्तिगत रूपमा म कसैलाई पनि दुश्मन ठान्दिनँ,” उनले भने।
आफ्नो कमजोरीबारे सोधिएको प्रश्नमा ओलीले आफू सजिलै विश्वास गर्ने स्वभाव भएको र कहिलेकाहीँ त्यसकै कारण धोका खेप्नुपरेको स्वीकार गरे। तर, आफूले ‘सर्कल’ सही रूपमा छान्न नसकेको भन्ने आरोप भने अस्वीकार गरे। “म केवल नजिकका मानिसलाई होइन, परपरका सम्बन्धमा पनि विश्वास गर्छु,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने निश्चित देखिन्छ, विशेषतः आगामी राजनीतिक समीकरणमा यसको असर पर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया