काठमाडौं । गत जुन १२ मा भारतको अहमदावादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान केहीबेरमै दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २४२ जना सवारमध्ये अधिकांशको ज्यान गएको घटनामा विमानका क्याप्टेन शंकाको घेरामा आएका छन्।
विमान मेघनीनगरको आवासीय क्षेत्रमा खस्दा जहाजमा सवार २४१ जना यात्रुसहित अन्य सर्वसाधारण गरी २७० भन्दा बढीको मृत्यु भएको थियो। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको दुवै इन्जिनमा इन्धन प्रवाह रोक्ने स्विचहरू बन्द गरिएको पाइएको छ।
ककपिट भ्वाइस रेकर्डर (CVR) को विवरणअनुसार एक पाइलटले अर्कासँग “तपाईंले इन्धन स्विच किन बन्द गर्नुभयो?” भनेर सोधेका थिए, जवाफमा अर्का पाइलटले “मैले होइन” भनेका थिए। प्रतिवेदनमा सो संवाद कसले भनेका हुन् भन्ने चाहिँ स्पष्ट छैन।
तर, अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नल ले अनुसन्धानमा संलग्न अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै क्याप्टेन सुमित सभरवालले ती स्विचहरू बन्द गरेको र सो प्रश्न सह-पाइलट क्लाइभ कुन्दरले गरेको दाबी गरेको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सो समयमा विमानको नियन्त्रण सम्हालिरहेका पाइलट कुन्दरको हात विमानको ‘हेन्डल’ मा व्यस्त भएकाले स्विच बन्द गर्ने सम्भावना क्याप्टेन सभरवालतर्फ बढी देखिन्छ। प्रारम्भिक प्रतिवेदनमा स्विचहरू एक सेकेन्डको अन्तरालमा क्रमशः बन्द गरिएको उल्लेख छ, र करीब १० सेकेन्डपछि ती पुनः अन गरिए पनि इन्जिनले शक्ति प्राप्त गर्न सकेनन्।
इन्धन स्विचहरू साधारण अवस्थामा जहाज उड्दासम्म सधैं खुला (अन) रहनुपर्ने भए पनि ती कसरी वा किन बन्द भए भन्नेबारे प्रतिवेदनले ठोस निष्कर्ष दिएको छैन। यो कार्य मानवीय त्रुटि थियो वा प्राविधिक कारणले भएको थियो भन्नेबारे अझै स्पष्ट हुन बाँकी छ।
घटनाबारे अमेरिकी अधिकारीहरूले यदि दुर्घटना अमेरिकी भूमिमा भएको भए फौजदारी अनुसन्धान हुने भन्दै गम्भीर आशंका व्यक्त गरेका छन्।
दुर्घटनाको क्षणमा विमान नजिकैको मेडिकल कलेजको छात्रावासमा खसेको थियो। त्यसअघि आपतकालीन ऊर्जा उत्पादन गर्न प्रयोग हुने ‘र्याम एयर टर्बाइन’ सक्रिय भएको देखिएको छ, जसले सम्भवतः इन्धन प्रवाह रोकिनुपछि आपतकालीन ऊर्जा स्रोतको रूपमा काम गर्न खोजेको संकेत गर्छ।
एफएए (संघीय उड्डयन प्रशासन) ले सन् २०१८ मै बोइङ ७८७ लगायतका मोडेलको इन्धन स्विचबारे जाँच गर्न सिफारिस गरिसकेको थियो, जसलाई प्रारम्भिक प्रतिवेदनले उद्धृत गर्दै सो मोडेलका स्विचमा प्राविधिक कमजोरीको आशंका पनि गरेको देखिन्छ।
दुर्घटनापछि बोइङ र एफएए दुवैले इन्धन स्विच सुरक्षित रहेको दाबी गरे पनि अमेरिकी अधिकारीहरू भने पाइलटको भूमिकामा बढी केन्द्रित देखिएका छन्। वाल स्ट्रिट जर्नल मा प्रकाशित समाचारमाथि भारतको नागरिक उड्डयन मन्त्रालयले आपत्ति जनाउँदै त्यो समाचार एकतर्फी भएको टिप्पणी गरेको छ।
यसैबीच, इन्डियन कमर्सियल पाइलट्स एसोसिएसनले दुर्घटनाबारे अनुसन्धान जारी रहँदै गर्दा अनुमानका आधारमा पाइलटहरूको छवि बिगार्न नहुने चेतावनी दिएको छ। संघले चालक दलले चुनौतीपूर्ण परिस्थितिमा आफ्नो तालिमअनुसार जिम्मेवारी पूरा गरेको जनाएको छ।
एयर इन्डियाका अनुसार क्याप्टेन सुमित सभरवालसँग १० हजार घण्टाभन्दा बढीको वाइड-बडी विमान उडाउने अनुभव थियो भने सह-पाइलट क्लाइभ कुन्दरले ३,४०० घण्टाभन्दा बढी उडान पूरा गरेका थिए।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया