काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किएकोबारे आफूलाई कुनै सल्लाह नआएको भन्दै पार्टीले यसबारे चाँडै निर्णय लिने बताएका छन्।
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँग बिहीबार भएको अन्तर्वार्तामा अध्यक्ष ओलीले भण्डारीले पार्टीमा पुनः सक्रिय हुन चाहेकोबारे औपचारिक वा अनौपचारिक रूपमा कुनै परामर्श नगरेको स्पष्ट पारे। “पार्टीको अध्यक्ष म हुँ, पार्टी पनि क्रियाशील छ,” ओलीले भने, “तर, न त मसँग सल्लाह गरियो, न त पार्टीमा कुनै प्रस्ताव आयो। न त उहाँले आउँ कि नआउँ भनेर केही सोध्नुभयो।”
ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा फर्कनुअघि आवश्यक संवैधानिक, राजनीतिक र नैतिक पक्षहरूबारे गम्भीर विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताए। “राष्ट्रपतिको पदको गरिमाबाट दलविशेषमा फर्कँदा के असर पर्छ? अन्तर्राष्ट्रिय अभ्यास के भन्छ? यी सबैमा छलफल हुनुपर्थ्यो,” उनले प्रस्ट पारे।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति डा. रामवरण यादवको उदाहरण दिँदै भण्डारीले ‘थिति’ बसाउने जिम्मेवारी पुरा नगरेको संकेत गरे। “विद्याजी पार्टीको सक्रिय राजनीतिबाट लामो समय टाढा हुनुहुन्थ्यो। कार्यकारी अनुभव पनि उहाँसँग छैन,” ओलीले भने, “त्यसैले अहिले उहाँलाई पार्टीको नेतृत्व सुम्पिने अवस्था छैन।”
भण्डारी एमालेको उपाध्यक्ष रहँदै राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन्। उनलाई पार्टीकै निर्णय अनुसार राष्ट्रपति बनाइएको उल्लेख गर्दै ओलीले भने, “उहाँ आफैं गएर राष्ट्रपति बन्नुभएको होइन, पार्टीले पठाएर बनाएको हो। त्यसपछि पार्टी त्याग्नुभएको थियो।”
अध्यक्ष ओलीले पार्टीले यस विषयमा चाँडै निर्णय गर्ने जानकारी दिए। “हामीले सार्वजनिक रूपमा आएको अभिव्यक्ति थाहा पाएका छौं। उहाँसँग सोधेर, सबै पक्ष विचार गरेर पार्टीले निर्णय गर्छ,” ओलीले भने, “तर निर्णय ढिलो हुँदैन।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेपछि उनी पुनः राजनीतिमा फर्किने चर्चा सुरु भएको थियो। ओलीको ताजा अभिव्यक्तिले भने यस विषयमा एमाले नेतृत्व स्पष्ट धारणा बनाउँदै गएको संकेत गरेको छ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया