तस्बिर: ANFA
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ। बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनाको प्रशिक्षण मैदानमा भएको खेलमा नेपाल ७–० गोलअन्तरले विजयी भयो।
नेपालका लागि समीक्षा मगरले दुई गोल गरिन् भने पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारी र बिर्सना चौधरीले समान एक/एक गोल गरे। यस्तै, एक गोल श्रीलंकाकै खेलाडीको आत्मघाती रह्यो।
नेपालले खेलको १६औँ मिनेटमा पूर्णिमा राईको गोलबाट अग्रता लिएको थियो। त्यसपछि कुशुम खतिवडाले ३५औँ मिनेटमा अग्रता दोब्बर पारिन्। ४२औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमार्फत गोल गर्दा ४४औँ मिनेटमा आत्मघाती गोल थपिएपछि नेपालले पहिलो हाफमै ४-० को अग्रता बनायो।
दोस्रो हाफमा ६७औँ मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गरिन्। त्यसपछि समीक्षाले ७४औँ र ७८औँ मिनेटमा दुई गोल गर्दै नेपालको स्कोर ७-० पुर्याइन्।
खेलको अन्त्यतिर नेपालले अर्को पेनाल्टीको अवसर पाए पनि सुशिला केसीले गोल गर्न सकिनन्। उनको प्रहार श्रीलंकन गोलकिपरले रोकिन्।
यो जितसँगै नेपालले प्रतियोगितामा चार खेलबाट तीन जितसहित ९ अंक जोडेको छ। अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। समान ९ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा रहेको छ।
नेपालले यसअघि भुटानमाथि ६-१ को जित, बंगलादेशसँग ३-२ को हार र अर्को खेलमा सहज जित निकाल्दै प्रतियोगितामा बलियो उपस्थिति देखाएको छ।




प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया