काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउन प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए । एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको सङ्ख्या १५ जना रहने प्रस्ताव शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी, सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षालगायत विषयमा छलफल भएको थियो । भण्डारीको जिम्मेवारीको विषयमा छुट्टै बैठक बसेर त्यसबारे छलफल गरिने भएको छ ।
वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीले बताए । देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको पनि बैठकको निष्कर्ष छ । सुशासन र सेवा प्रवाहमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबिचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको, मुलुकको अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया