काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन्। उनले ओलीलाई पौराणिक पात्र ‘सुरसा’ सँग तुलना गर्दै निरन्तर सत्ता र पदको लोभ देखाएको आरोप लगाएका छन्।
रावलले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत तीव्र व्यङ्ग्य गर्दै ओलीलाई ‘झोले अध्यक्ष’ र ‘सुरसाजस्तै अनिकाल पात्र’ भन्दै आलोचना गरेका हुन्।
उनले लेखेका छन्, “जति भए पनि नअघाउने, जसरी पनि सत्ता र पद खान खोज्ने, पौराणिक सुरसा झैं ‘ऑ…’ गर्दै मुख फटाउँदै हिँड्ने झोले अध्यक्ष केपी ओली नै हुन् भन्ने कुरा अब त सबैलाई प्रष्ट भएको होला, होइन र?”
यो टिप्पणी रावलले हिजो सम्पन्न एमाले सचिवालय बैठकको सन्दर्भमा गरेका हुन्, जहाँ ओलीले आन्तरिक असहमतिहरूप्रति कठोर व्यवहार देखाएको भन्दै उनले अप्रत्यक्ष रूपमा विरोध जनाएका छन्। रावलको भनाइमा, ओलीको हालको व्यवहार र निर्णयहरूले उनी कसरी आलोचना र विपक्षी स्वर दबाउन चाहन्छन् भन्ने कुरा झल्किन्छ।
नेकपा एमालेभित्र विधान संशोधनलगायतका विषयमा भइरहेको विवादका बीच रावलको यस्तो वक्तव्य सार्वजनिक भएको हो। उनले पार्टीभित्रको वैचारिक मतभेदलाई दबाउने प्रवृत्ति गलत भएको पनि संकेत गरेका छन्।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया