एजेन्सी । भारतको राजधानी दिल्लीमा विद्यालयहरूलाई इमेलमार्फत बम विस्फोट गराउने धम्की आउने क्रम अझै रोकिएको छैन। पछिल्ला केही दिनयता दैनिक रूपमा धम्की आइरहँदा अभिभावक र विद्यार्थी त्रसित बनेका छन्।

प्रहरीका अनुसार पछिल्लो पटक दिल्लीका २० भन्दा बढी विद्यालयलाई इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएको छ। तीमध्ये पश्चिम विहारस्थित रिचमन्ड ग्लोबल स्कुललाई बिहीबार बिहान ४ः५५ बजे धम्कीपूर्ण इमेल पठाइएको थियो।

advertisement

यो कुरा थाहा बित्तिकै स्थानीय प्रहरी, बम स्क्वाड, कुकुर स्क्वाड र दमकल कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।  यद्यपि अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन।

दिल्ली अग्नि सेवा विभागका अनुसार पछिल्ला तीन दिनमा दश विद्यालय र एक कलेजलाई धम्कीपूर्ण इमेल प्राप्त भएको छ। बढ्दो सुरक्षासंवेदनशीलताका कारण केही विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

पश्चिम विहारको रिचमन्ड स्कुलसँगै रोहिणी सेक्टर–३ मा रहेको अभिनव पब्लिक स्कुलमा पनि बमको धम्की आएको पुष्टि भएको छ। सुरक्षाकर्मीहरूले दुवै विद्यालयको सबै भागमा बमको खोजी गरिरहेका छन्।

दिल्ली प्रहरी र साइबर अपराध अनुसन्धान शाखा यस्ता इमेलहरू कसले, कुन उद्देश्यले पठाएको हो भन्नेबारे छानबिन गरिरहेका छन्। प्रारम्भिक अनुमानमा यो साइबर आतंकको रूप हुनसक्ने भन्दै सतर्कता बढाइएको छ।

प्रहरीले अभिभावक र सर्वसाधारणलाई अफवाहमा नआई सुरक्षाकर्मीहरूमाथि भरोसा गर्न आग्रह गरेको छ। साथै, विद्यालय प्रशासनलाई यस्ता इमेल प्राप्त भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन निर्देशन दिइएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com