काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई आगामी पुस्तासम्म विस्तार गरिने बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।
शुक्रबार राजधानीमा आयोजित ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध पुरानो, ऐतिहासिक र गहिरो भएको उल्लेख गरे। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ओलीले सांस्कृतिक आदानप्रदानले आपसी समझदारी र मित्रता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
“पुस्ता पुस्तासम्म मित्रता विस्तार हुने गरी यस्तो कार्यक्रमले असाधारण सन्देश दिएको छ,” प्रधानमन्त्री ओलीले भने, “सम्बन्ध केवल लेनदेनको विषय होइन, पारस्परिक भावना, सम्मान र सांस्कृतिक विविधताले पनि यसलाई मजबुत बनाउँछ।”
उनले नेपाल सरकार मित्रता विस्तारका हरेक सम्भावनामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए। “मैत्री सम्बन्ध सुदृढ गर्न गच्छे हेरेर होइन, भावना हेरेर अघि बढिन्छ,” उनले थपे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान पनि गरे। युवा सशक्तीकरण पुरस्कार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रदान गरिएको थियो। त्यस्तै, व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई र शिक्षा उत्कृष्टता पुरस्कार अनुराधा शर्मालाई प्रदान गरिएको थियो।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया