काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा व्याप्त भ्रष्टाचारको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गरिएको प्रदर्शनमा नाराबाजीसहित राप्रपाले ज्ञापनपत्र बुझाउँदै अख्तियारको ध्यानाकर्षण गराएको हो।

advertisement

ज्ञापनपत्रमार्फत अध्यक्ष लिङ्देनले संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार ‘प्रतिस्पर्धा’को विषय बनेको आरोप लगाएका छन्। उनले भनेका छन्, “अब भ्रष्टाचार कहाँ छ भनेर होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भइसकेको छ।”

लिङ्देनले सरकारका मन्त्रीहरूकै संलग्नता भएका भ्रष्टाचारका अनेक प्रकरणहरू सार्वजनिक भइरहेकाले राजनीतिक नेतृत्व नै भ्रष्टाचारको मूल जरो भएको दाबी गरे। “मन्त्रीहरू एकअर्कासँग प्रतिस्पर्धा गरिरहेजस्तो देखिन्छ—को छिटो र धेरै कमाउँछ भनेर। अझ प्रमुख आयुक्तकै भ्रष्ट रकम विदेशमा डिल हुने भनाइले त भ्रष्टाचारको तह झन् भयावह देखाउँछ,” उनले भने।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायत बहुचर्चित भ्रष्टाचार काण्डमा उच्च राजनीतिक नेतृत्व नै छानबिनको दायराबाट बाहिर रहँदा आयोगको निष्पक्षता र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको राप्रपाको ठहर छ।

“राजनीतिक नेतृत्वलाई कारबाहीको दायरामा ल्याउनैपर्छ, सानातिना कारबाहीले मात्र सुशासन सम्भव छैन,” राप्रपाको भनाइ छ।

राप्रपाले हाल चर्चामा रहेका नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, निर्माण सामग्रीको मूल्यवृद्धि, भिजिट भिसाको दुरुपयोग, मन्त्रीहरूको अडियो प्रकरण जस्ता घटनाहरूले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छवि नै धूमिल पारेको जनाउँदै गम्भीर छानबिनको माग गरेको छ।

त्यस्तै, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद, कृषि अनुदान दुरुपयोग जस्ता बहुचर्चित काण्डहरूमा ढिला नगरिकन अनुसन्धान थाल्न र कारबाही अघि बढाउन राप्रपाले अख्तियारलाई आग्रह गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठले बताएअनुसार, मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र जनताको विश्वास पुनःस्थापना गर्नका लागि अख्तियारले निष्पक्ष, निडर र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता अहिले झन् बढेर गएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com