सर्लाही । तस्करसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा पर्ने भएका छन्।
प्रहरी जवानमार्फत तस्करसँग रकम मागेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार उनलाई निलम्बन गर्न सिफारिस गरेको हो। सिफारिस मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमार्फत प्रहरी प्रधान कार्यालय, काठमाडौंमा पठाइएको छ।
सई दासले तस्कर राजिव यादवको तस्करी कार्यलाई सहज बनाइदिन आफ्ना घुमुवा जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ घुस मागेको अडियो बाहिरिएको हो।
त्रिपक्षीय संवाद भएको उक्त अडियोमा सई दास, जवान यादव र तस्करबीचको स्पष्ट लेनदेन संवाद सुन्न सकिन्छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, अडियो सार्वजनिक भएलगत्तै प्रमाण संरक्षण गर्न र अनुशासन प्रक्रिया अघि बढाउन सई दासको निलम्बन सिफारिस गरिएको हो।
“अहिले उनको स्थानमा नयाँ सई खटाउने प्रक्रिया अघि बढिसकेको छ,” राईले जानकारी दिए।
यो पहिलो पटक होइन, सई बैधनाथ दास यसअघि पनि तस्करीमा संलग्नताका कारण निलम्बनमा परेका थिए।
मधेस प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी धीरज प्रताप सिंहले २०७७ सालको मंसिर ५ गते पर्सा जिल्लामा कार्यरत रहँदा तस्करसँगको अडियो र भिडियो प्रमाणसहित उनलाई निलम्बन गरेका थिए।
तत्कालीन कार्यकालमा पनि दासले पर्साका सीमावर्ती क्षेत्र हुँदै तस्करी गराउन रकम लिएको आरोप लागेको थियो। त्यस घटनापछि करिब एक वर्ष निष्क्रिय रहेका उनी २०७८ साल वैशाख २८ गते पुनः सेवामा फर्किएका थिए।
तर उनलाई पाँच वर्षसम्म बढुवाबाट रोक्ने कारबाही पनि गरिएको थियो।
हिरापुर प्रहरी चौकी, सर्लाही– जुन भारतसँग सिमाना जोडिएको संवेदनशील क्षेत्र हो – त्यहाँ सईहरूको कार्यकाल सामान्यतः छ महिनासम्म सीमित रहने प्रचलन छ।
तर सई दास भने आठ महिनादेखि त्यहीँ अडिएर बस्दै आएका थिए, जसले उनीमाथिको शंका झनै बलियो बनाएको छ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार











प्रतिक्रिया