काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले देशमा सवारी दुर्घटनाको अवस्था अत्यन्त चिन्ताजनक बन्दै गएको बताएका छन्।
शुक्रबार संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै थापाले सवारी दुर्घटनाका कारण दैनिक ७ देखि १० जनासम्मको ज्यान जाने गरेको जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्र देशभर २८ हजार ६९२ वटा सवारी दुर्घटना भएका छन्, जसमा २ हजार ५४९ जनाले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा २५.१५ प्रतिशतले बढी भएको उनले बताए।
आईजीपी थापाले दुर्घटना सबैभन्दा धेरै मधेस प्रदेशमा भएको उल्लेख गर्दै यो समस्या नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन जरुरी रहेको बताए। “सवारी दुर्घटनाको अवस्था भयावह छ। अघिल्लो वर्षको तुलनामा दुर्घटना र मृतक संख्या दुबै बढेका छन्,” उनले भने।
प्रहरी प्रमुख थापाले सडक सुरक्षालाई प्राथमिकतामा राखी जनचेतना, नियम कार्यान्वयन र प्रविधिको सहायताले दुर्घटनामा कमी ल्याउन सकिने धारणा राखे।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया