काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक बहुआयामिक संकटको चपेटामा परेको भन्दै त्यसको एकमात्र समाधान वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेका छन्।
शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)बीच सम्पन्न पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै खनालले देश हाल गम्भीर राजनीतिक, सामाजिक र सांस्कृतिक संकटको स्थितिमा रहेको बताएका हुन्।
“देश चारैतिरबाट संकटमा परेको छ। भयावह राजनीतिक संकट सिर्जना भएको छ। सामाजिक र नैतिक मूल्यहरू खण्डित छन्। भ्रष्टाचार दिनप्रतिदिन फैलिँदै छ,” खनालले भने, “क्याबिनेटमा बसेका मन्त्रीहरू नै भ्रष्टाचारमा मुछिएको अवस्था छ। यस्तो गम्भीर अवस्थाबाट मुलुक गुज्रिरहेको छ।”
खनालले यस्तो संकटको समाधान पारंपरिक विधिबाट सम्भव नभएको भन्दै वैज्ञानिक समाजवादमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। “हामीले यथास्थितिमा देशलाई अघि बढाउन सक्दैनौं। वैज्ञानिक समाजवाद नै अबको एक मात्र विकल्प हो,” उनले भने, “गरिबी, बेरोजगारी र औद्योगिक पछौटेपनको अन्त्य यही बाटोबाट मात्र सम्भव छ।”
उनले नेपाली युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै भने, “हाम्रा युवालाई परदेश पठाएर होइन, यहीँ देशमा रोजगारी सिर्जना गर्नुपर्छ। शिक्षा प्रणालीको आमूल सुधार, उद्योगको विकास र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक छ।”
खनालले वर्तमान सत्ता गठबन्धनमाथि गम्भीर प्रश्न पनि उठाए। “आज दुई ठूला दल सरकारमा छन्। तर, उनीहरूको नीति, कार्यक्रम र बजेटमा नेपाली जनताको हित गर्ने कुनै दृष्टिकोण देखिन्न,” उनले भने, “जनताको अपेक्षा विपरीत यिनको कार्यशैलीले देशलाई झनै संकटतर्फ धकेलेको छ।”
कार्यक्रममा खनालले पार्टी एकताको स्वागत गर्दै अब देशलाई वैकल्पिक विचार र स्पष्ट योजनासहितको वाम शक्तिले मात्र मार्गनिर्देशन गर्न सक्ने दाबी गरे। “अबको बाटो समाजवादी विचार र संगठनको सुदृढ आधारमा निर्माण हुन्छ,” उनले भने, “हामी सबै मिलेर मुलुकलाई सही दिशातर्फ डोहोऱ्याउन तयार हुनुपर्छ।”
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया