काठमाडाैं । झापामा प्रहरीले ठूलो परिणामको लागुऔषध बरामद गर्दै गोदाम नियन्त्रणमा लिएको छ। सो कारोबारमा नेकपा (एमाले) का एक स्थानीय नेताको संलग्नता देखिएको भन्दै प्रहरीले खोजी थालेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडले अर्जुनधारा–६ का २५ वर्षीय विनोद घिमिरेलाई बिहीबार प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा घिमिरेले आफू स्थानीय नेता भानुभक्त खरेलको निर्देशनमा काम गरेको स्वीकारेका छन्।
भानुभक्त खरेल एमाले झापा जिल्ला अन्तर्गतका सक्रिय नेता तथा बिर्तामोडमा सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसायी हुन्। तर उनी हालसम्म पक्राउ परेका छैनन्।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बरामद लागुऔषध:
ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल – १ लाख ३ हजार ८ सय, ट्रामाडोल इन्जेक्सन (ट्रामाडेक्स) – १,८७० एम्पुल, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट -४,०५० वटा, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट – ९७,००० वटा, सिल्डेनाफिल ट्याब्लेट-८,९०० वटा, कम्बिप्याक अफ मिफेप्रिस्टोन एन्ड मिसोप्रोस्टोल – ७,६५० ट्याब्लेट रहेको छ।
प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेका थिए। उनका अनुसार अनुसन्धान अघि बढ्दै जाँदा खरेलकै संलग्नता लगभग पुष्टि भएको छ।
उनको खोजी भइरहेको छ। अनुसन्धानबाट उनी नै मुख्य नाइके हुनसक्ने प्रमाणहरू देखिन थालेका छन्,’ डीएसपी श्रेष्ठले बताए।
यस घटनाले झापामा लागुऔषध कारोबार राजनीतिक पहुँचको आडमा चलिरहेको आशंका थप बलियो बनाएको छ। प्रहरीले फरार खरेलको खोजी तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया