काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापा र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफलका क्रममा तीखो सवालजवाफ भएको छ।

बैठक सुरु हुनासाथ थापाले आफ्नो धारणा राख्न खोजेपछि अध्यक्ष ओलीले “बोल्ने पालो आएको छैन” भन्दै थापालाई रोक्ने प्रयास गरेका थिए। तर, त्यसैबेलामा दुवैबीच छोटो तर स्पष्ट बहस भएको स्रोतले जानकारी दिएको छ।

advertisement

स्रोतका अनुसार थापाले आफ्नो धारणा राख्दै पार्टीको विधानमा प्रस्तावित ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमाको विषय उठाएका थिए। उनले ओलीको विगतको अभिव्यक्तिको स्मरण गराउँदै भने, “तपाईं ६० वर्षको हुँदा ७० वर्षे उमेर हदको कुरा उठाउनुभएको थियो। अहिले हामी ६० वर्ष पुगेका छौं, तपाईं ७० वर्ष नजिक हुनुहुन्छ। अब हामीले यो विषय उठाउँदा किन नपाउने ?”

बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गरेका थिए। उनले पार्टीको आन्तरिक संरचना, कार्यपद्धति र नीतिगत विषयमा आवश्यक परिमार्जनबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्। त्यसपछि महासचिव शंकर पोखरेलले संगठन सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

पार्टीको नेतृत्व संरचना र कार्यकाल सीमाजस्ता विषयमा गम्भीर छलफल प्रारम्भ भएपछि बैठकले थप संवेदनशील मोड लिएको देखिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com