काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन समितिले पार्टी सिद्धान्त र नीतिविपरीत कुनै पनि अभिव्यक्ति नदिन सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ। पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, अनुशासन समिति अध्यक्ष रोशन कार्कीको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
समितिको निर्णयमा भनिएको छ, “पार्टीको विचार, नीति, सिद्धान्त र व्यापक हित विपरीत हुने गरी सामाजिक सञ्जाल वा सार्वजनिक माध्यमहरूमा कुनै पनि प्रकारका लिखित वा मौखिक अभिव्यक्ति नदिन, नदिलाउन सम्पूर्ण नेता र कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछौं।”
यसैबीच, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन्। गिरीसहित चार नेताले बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनमाथि गम्भीर आरोप लगाउँदै पार्टीलाई अपूरणीय क्षति पुगेको दाबी गरेका थिए।
विज्ञप्तिमा उनीहरूले सगुन सुन्दर लावतीलाई संगठन विभाग प्रमुखबाट, प्रवक्ता तथा केन्द्रीय सदस्य धनसुर शाहीलाई समन्वय विभागको सदस्य सचिवबाट पार्टी विधानविपरीत हटाइएको आरोप लगाएका छन्।
पार्टीका सक्रिय र वरिष्ठ नेताहरूमाथि पटकपटक कारबाही गरिएको भन्दै यसले कार्यकर्ताहरूमा असन्तोष र जनस्तरमा शंका उत्पन्न भएको उनीहरूको भनाइ छ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया