कठमाडौं। वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१, ८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो ।
विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत गत आवमा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।
नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।
विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स ९युएई० मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया