काठमाडौं । इजरायल र सिरियाबीच जारी तनाव कम गर्न युद्धविरामको समझदारी कायम भएको छ। टर्कीका लागि नियुक्त अमेरिकी राजदूतले दुई देशबीच युद्धविरामको सहमति भएको जानकारी दिएका हुन्।

गत केही दिनदेखि दक्षिणी सिरियाको सुवैदा क्षेत्रमा इजरायली सेना र सिरियाली पक्षबीच भीषण झडप भइरहेको थियो। आइतबारदेखि सुरु भएको हिंसात्मक भिडन्तमा हालसम्म ६०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

advertisement

यसैबीच, इजरायलले राजधानी दमास्कसमा हवाई आक्रमण गर्नुका साथै दक्षिणी सिरियामा सरकार पक्षीय सेनामाथि समेत आक्रमण गरेको थियो। इजरायली पक्षले सिरियाली ड्रुज समुदायको सुरक्षाका लागि हस्तक्षेप गरेको दाबी गर्दै आएको छ।

यता, सिरियाली राष्ट्रपतिको कार्यालयले दक्षिणी क्षेत्रमा ड्रुज लडाकु समूह र अन्य घुमन्ते समूहबीच भएको साम्प्रदायिक तनाव रोक्नका लागि नयाँ सैन्य टोली तैनाथ गरिने जनाएको छ।

अमेरिकी विशेष दूत टम ब्यारकले युद्धविराम सम्झौता टर्की, जोर्डनसहितका अन्य छिमेकी देशहरूको सहकार्यमा सम्भव भएको बताएका छन्। उनका अनुसार, क्षेत्रीय स्थायित्व र मानवीय संकट रोक्न युद्धविराम महत्वपूर्ण कदम हो।

इजरायलले सीमावर्ती क्षेत्रमा चर्कँदो संकट र ड्रुज समुदायमाथिको खतरा न्यूनीकरणका लागि आफूले सैन्य हस्तक्षेप गरेको स्पष्ट पारेको छ। तर, सिरियाली सरकारले इजरायली कारबाहीलाई आक्रामक कदम भन्दै संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन भएको आरोप लगाएको छ।

दुवै देशबीच युद्धविरामको सहमति भए पनि दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको सतर्कता र निरन्तर कूटनीतिक प्रयास आवश्यक देखिन्छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com