काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र न्याय र सत्यका पक्षमा लडाइँ जारी रहेको बताएका छन्।
पार्टीको पोलिटब्युरो बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीसँग भएको प्रश्नोत्तरपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बैठकमा विधान संशोधन प्रस्तावमाथि भइरहेको छलफलका क्रममा थापाले स्पष्ट मत राख्दै केही संवेदनशील विषयमा ओलीसँग प्रत्यक्ष संवाद गरेका थिए।
थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्दै आएका छन्। भण्डारीले हालै पार्टी सदस्यता नवीकरण गर्दै पुनः सक्रिय राजनीति सुरु गर्ने घोषणा गरेपछि एमालेभित्र नयाँ ध्रुवीकरण देखिन थालेको छ।
थापा पार्टी विधानमा उमेर हद र दुई कार्यकालको सीमा अनिवार्यरूपमा लागू हुनुपर्ने पक्षमा छन्। तर, पार्टी सचिवालयले उक्त प्रावधान हटाउने निर्णय गरिसकेको छ, जसप्रति उनले असहमति जनाउँदै आएका छन्।
पार्टीभित्र सैद्धान्तिक मतभेद र नेतृत्वप्रतिको असहमति खुलेर अभिव्यक्त भइरहेका बेला थापाको टिप्पणीले एमालेमा वैचारिक खिचातानी अझ चर्किएको संकेत गरेको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया