काठमाडौं । दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ काे हत्यारालाई पहिचान गरी कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।
हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज गणेश आचार्यले आज गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
हेमराज धितालको २०६७ साल साउन ६ गते अपराह्न तुलसीपुर–१२, जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उनी रेडियो तुलसीपुरका संस्थापक अध्यक्षसमेत थिए।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले सञ्चारकर्मी हेमराजको हत्या गम्भीर अपराध भएको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको कर्तव्य भएको बताए।
“१५ वर्षसम्म पनि हत्यारा पहिचान नहुनु दुःखद हो,” गृहमन्त्री लेखकले भने, “घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरी महानिरीक्षक (आईजीपी) लाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिनेछु। पीडित परिवार ढुक्क हुन सक्नुहुन्छ।”
हाल घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ। तर, अहिलेसम्म कुनै ठोस प्रगति नदेखिएको मृतकका भाइ पुष्कर धितालको गुनासो छ। उनका अनुसार, प्रहरीले अहिलेसम्म हत्याराको स्केचसमेत बनाउन सकेको छैन, जसले अनुसन्धानप्रति निराशा बढाएको छ।
पीडित परिवार र सञ्चारकर्मी समुदायले घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गरिनुपर्ने माग गर्दै आएका छन्।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया