काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीभित्र यान्त्रिकभन्दा विश्वासमा आधारित एकताको खाँचो रहेको बताएका छन्।
शनिबार पार्टीको पोलिटब्युरो बैठकमा धारणा राख्दै नेता बास्कोटाले वर्तमान समयमा संगठनभित्र ट्रष्टफूल एकता आवश्यक रहेको र नेतृत्व तहले आपसी समन्वयमार्फत विवाद समाधान गर्नुपर्ने सुझाव दिएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी पछिल्लो विवादप्रति पनि उनले संयमित धारणा राख्दै विषयलाई राजनीतिक रूपमा हल गर्न आग्रह गरे। “अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सहकार्य र विश्वासको सम्बन्ध सबैलाई थाहा छ। यस्तो विषयमा झटारो हान्ने शैली ठीक होइन,” उनले बैठकमा भने।
बास्कोटाले पार्टी नेतृत्वलाई आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्न आग्रह गर्दै, दोस्रो तहका नेताहरूलाई पनि मिलाउने क्षमताको परिचय दिन चुनौती दिए। “हामी प्रतिस्पर्धा गर्न तयार छौं, तर नेतृत्वमा विश्वासिलो एकता हुनुपर्छ,” उनले स्पष्ट पारे।
उनले पार्टीमा उमेर हदको विषय पनि विगतमा सैद्धान्तिक रूपमा उठाइएको स्मरण गराउँदै अहिले त्यसलाई प्राविधिक रूपमा मात्र नलिन अनुरोध गरे।
बैठकमा बास्कोटाको धारणा अन्य नेताहरूको भन्दा सन्तुलित र मध्यमार्गी रहेको सहभागी नेताहरूले बताएका छन्। एमालेको हालको आन्तरिक बहसलाई मिलाउने दिशामा बास्कोटाको भनाइलाई सकारात्मक पहलको रूपमा हेरिएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार












प्रतिक्रिया