काठमाडौं ।  नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः संलग्नता, पार्टीको आन्तरिक प्रक्रिया र नेतृत्व चयनको विषयमा स्पष्ट र कडा धारणा सार्वजनिक गरेका छन्।

शनिबार आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा बस्नेतले भण्डारीको सक्रिय पार्टी राजनीतिमा फर्कनु पार्टी मर्यादा र लोकतान्त्रिक अभ्यास विपरीत रहेको दाबी गरेका छन्।

advertisement

“विद्याजी राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी वहन गर्नुभएका व्यक्ति हुन्। सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्नु इथिकल र प्रक्रियागत गल्ती हुनेछ,” बस्नेतले लेखेका छन्।

उनले भण्डारीको सदस्यता नवीकरण र पूर्वराष्ट्रपतिको हैसियतमा प्रक्रिया कसरी अघि बढ्ने भन्ने प्रश्न उठाउँदै, त्यसबारे केन्द्रीय कमिटीकै निर्णय आवश्यक भएको बताएका छन्।

बस्नेतले एमालेभित्र ७० वर्षे उमेर सीमा हटाउने निर्णयलाई उचित नठहराउँदै, यसमा अब पुनर्विचार आवश्यक भएको तर्क गरेका छन्।

“अवकाश स्वचालित होइन, क्षमता र स्वेच्छाले हुने विषय हो,” भन्दै उनले यस्ता विषय लहडमा होइन, सैद्धान्तिक रूपमा टुंग्याउनुपर्ने धारणा राखेका छन्।

साथै, उनले पार्टीमा विद्यादेवी भण्डारीलाई वैकल्पिक नेताका रूपमा अगाडि सार्दै गुटबन्दीको राजनीति गरिँदैछ भन्ने आरोपसमेत लगाएका छन्।

बस्नेतले हालको अवस्थामा पार्टीभित्र केपी शर्मा ओलीको विकल्प नभएको उल्लेख गर्दै, आगामी कार्यकाल पनि ओलीकै नेतृत्वमा एमाले अघि बढ्नुपर्ने प्रस्ताव समेत गरेका छन्।

“जति सुकै असक्षमको ट्याग लागेपनि, परिभाषित काममा आफ्नो क्षमता देखाउँछौं। अध्यक्षको विकल्प नभएकाले एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ,” उनले भनेका छन्।
संविधान संशोधनका सुझावहरू

बस्नेतले पार्टीको विधान संशोधनसम्बन्धी आफ्ना केही सुझावहरू पनि बैठकमा राखेका छन्, जसमा निम्न प्रस्तावहरू छन्:

1. स्थायी कमिटीको संख्या २५ पुर्‍याउने।
2. उपत्यका विशेष कमिटी गठन गर्ने।
3. प्रवासी क्षेत्रका युवा, महिला, मजदुर तथा विद्यार्थी कमिटीहरू विस्तार गर्ने।
4. तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com