काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको व्यक्तित्व भएको आरोप लगाएका छन्।
शनिबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिद्वन्द्वीहरूमाथि लगातार प्रतिशोधपूर्ण कदम चालिरहेको आरोप लगाए।
उनले भने, “ओलीजीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट सुरु गरेको प्रतिशोधको लहर अहिले काँग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको छ। सहकारी प्रकरणमा रविलाई थुनेर रास्वपा फुटाउने र काँग्रेसलाई कमजोर बनाउने नियोजित प्रयास गरिएको छ।”
पुनले एमालेमा विलय गराउने उद्देश्यले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि मुद्दा लगाउने तयारी गरिएको र उपेन्द्र यादव नेतृत्वको जसपालाई फुटाएर एउटा समूह आफूतर्फ तान्ने योजना रहेको समेत खुलासा गरे।
उनका अनुसार, “ओलीजीको रणनीति भनेकै विपक्षी दलका शीर्ष नेताहरूलाई बदनाम गरेर मुद्धा लगाउने, पार्टी भत्काउने वा आफ्नो पार्टीमा गाभ्ने हो। अहिले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई जेल हाल्ने, राजेन्द्र लिङ्देनलाई आन्दोलन रोक्न लगाउने, अनि काँग्रेस गठबन्धन अलि चलायमान देखिएमा आरजु राणामाथि मुद्धा लगाउने तयारी भइरहेको छ।”
पुनले प्रधानमन्त्री ओलीले भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखक र टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई तानेर काँग्रेस सभापति शेरबहादुर देउवामाथि समेत दबाब सिर्जना गर्न खोजेको दाबी गरे।
उनले प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि विभिन्न निकायमार्फत फसाउने प्रयास गरेको बताए। “सिआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमार्फत प्रचण्डलाई फसाउन खोज्दा केही नपाएपछि शेरा दरबार प्रकरण उठाइएको हो,” पुनको आरोप थियो।
प्रचण्डले यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धु प्रकरणमा छानबिन हुनुपर्ने कुरा उठाएपछि ओली मौन रहेको दाबी गर्दै पुनले भने, “हामीले नेकपाको तीन वर्ष सरकारमा उहाँसँग सँगै काम गरेका थियौं, त्यसैले उहाँको शैली हाम्रो लागि नयाँ होइन।”
पुनले ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि लगाए। “गत एक वर्षमा ओली सरकारको उपलब्धि भ्रष्टाचारका काण्डहरू मात्र हुन्,” उनले भने, “एक मन्त्रीले घूस प्रकरणमा राजीनामा दिएका छन्, अर्कोको अडियो सार्वजनिक भएको छ। बिचौलियाको संरक्षणबाहेक सरकारले केही पनि गरेको छैन।”
उनले थपे, “हामी ओली नेतृत्वको दक्षिणपन्थी र एकाधिकारवादी गिरोहसँग लडिरहेका छौं। माओवादीभित्र यस्तो तोडफोडको प्रयास सफल हुँदैन। हामी निडर छौं, किनभने हामी दोषी होइनौं।”
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया