काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको आगामी नेतृत्व पुनः केपी शर्मा ओलीकै हातमा दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। शनिबार च्यासलमा जारी पार्टीको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीको विकल्प अहिलेसम्म तयार नभएको उल्लेख गर्दै आगामी कार्यकालमा पनि ओलीकै नेतृत्व आवश्यक रहेको बताए।
बस्नेतले भने, “एमालेभित्र नेतृत्वको पक्षमा उभिँदा असक्षम भन्ने आरोप लगाउने प्रवृत्ति बढेको छ। जतिसुकै आलोचना आए पनि परिभाषित जिम्मेवारीमा आफ्नो क्षमता देखाउने छु।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणका विषयमा बस्नेतले केन्द्रीय कमिटीको निर्णयबिना अघि बढ्नु नहुने धारणा राखे। उनले भण्डारीको राष्ट्रपतिको मर्यादालाई क्षति पुर्याउने गरी सक्रिय राजनीतिमा फर्कने प्रयास उचित नहुने बताए।
“पूर्वराष्ट्रपतिको गरिमा बोकेको व्यक्तिले फेरि पार्टीको सक्रिय भूमिकामा फर्कँदा प्रक्रियागत र नैतिक चूक हुने खतरा हुन्छ। लोकतन्त्र र आन्तरिक जनवादसँग यस्तो कार्य मेल खाँदैन,” बस्नेतले चेतावनी दिए।
उनले थपे, “उहाँको सदस्यता नवीकरण आवश्यक छ वा छैन भन्ने गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयअनुसार मात्र टुंगो लगाइनुपर्छ।”
बस्नेतले भण्डारीलाई वैकल्पिक नेताका रूपमा अगाडि ल्याउने नाममा गुट निर्माण भइरहेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए। उनले यस्ता प्रवृत्तिलाई रोक्न सबैले संकल्प गर्नुपर्ने बताए।
७० वर्षे उमेर सीमा र २ कार्यकालको नेतृत्व सीमासम्बन्धी प्रावधान हटाउने प्रस्तावको पक्षमा उभिँदै उनले भने, “विधानमा गरिएको संशोधन आवश्यक र सान्दर्भिक छ। विधानलाई परिवर्तन गरेर नेतालाई षड्यन्त्रमा पारिएको भन्ने आरोप निराधार छ। क्षमता र योग्यताको आधारमा नेता चयन गर्ने संस्कार निर्माण गरौँ।”
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया