पोखरा । नेकपा एमाले कास्कीले घुस डिल प्रकरणमा संलग्न भनिएका सुजन लामाको पार्टी सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ। कास्की जिल्ला कमिटीका सचिव दर्शन लामाका अनुसार, सुजन लामाको सदस्यता नविकरण नगर्ने निर्णय गरी केन्द्रमा सिफारिस गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग लामाको घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। सो अडिओमा घुस डिलमा संलग्न भएको भन्दै लामा विरुद्ध आलोचना चुलिएको थियो।
शनिबार पोखरामा आयोजित एमाले कास्कीको विस्तारित भेलामा पार्टी नेताहरूले भूमिमन्त्री बलराम अधिकारीविरुद्ध पनि कारवाहीको माग गरे। एमाले कास्कीका इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राजकुमार गुप्ताले राजीनामा दिइसकेको अवस्थामा अधिकारीले पनि त्यसै गर्नुपर्ने तर्क गरेका थिए।
नेताहरूले प्रकरणमा संलग्न सबैमाथि निष्पक्ष अनुसन्धान गरी कारवाही गर्नुपर्ने मागसमेत राखेका थिए। सो भेला आगामी साउन ५, ६ र ७ गते ४७औं पुस्पलाल स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गर्न बोलाइएको थियो।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया