काठमाडाैं । रुसको पूर्वी तटीय क्षेत्र कामचटका प्रायद्वीपमा आइतबार शक्तिशाली भूकम्प आएको छ। समुद्रमा केन्द्रविन्दु रहेको यो भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभस्क–कामचाट्स्की शहरबाट करिब १४४ किलोमिटर पूर्वमा र २० किलोमिटर गहिराइमा रहेको बताइएको छ। सो शहरमा झण्डै १ लाख ८० हजार मानिस बसोबास गर्छन्। भूकम्पको झट्का तीव्र र दोहोरिएको बताइएको छ।
मुख्य भूकम्प आउनुभन्दा केही मिनेटअघि सोही क्षेत्रमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प पनि रेकर्ड गरिएको थियो। लगातार दुई पटक शक्तिशाली भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन्।
हालसम्म जनधनको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। अधिकारीहरूले समुद्र आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सरुवा हुन सुझाव दिएका छन्। उद्धार र राहत संयन्त्र तयारी अवस्थामा राखिएको र अवस्था मूल्यांकन भइरहेको जनाइएको छ।
प्रशान्त क्षेत्रमा यस्ता शक्तिशाली भूकम्पहरूपछि सुनामीको जोखिम उच्च हुने भएकाले विशेष सतर्कता अपनाइएको छ। वैज्ञानिकहरूले भूकम्पपछि उत्पन्न हुने पराकम्पनहरू अझै केही दिनसम्म महसुस हुनसक्ने जनाएका छन्।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया