काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको तीव्र विकासले आम मानिसको सामाजिक र सांस्कृतिक जीवनमा गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदै गर्दा उनले सञ्चार क्षेत्रको नियमनमा केवल कानुनी नियन्त्रण पर्याप्त नहुने धारणा राखे।
सांसद भण्डारीले बढ्दो प्रविधि, विशेषतः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई सकारात्मक दिशामा प्रयोग गर्न जोड दिए। “यदि एआईको सदुपयोग गर्न सकेनौं भने यसले मानव जीवनलाई नै खतरा पुर्याउन सक्छ,” उनले भने, “हामीले तथ्यमा आधारित समाचार कसरी प्रवाह गर्ने भन्नेमा गम्भीर सोच आवश्यक छ।”
उनले मिडियाले सत्य, उत्तरदायी र जिम्मेवार सूचना दिनुपर्छ भन्ने अवधारणालाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै सञ्चार माध्यमले अधिकारसँगै जिम्मेवारी पनि वहन गर्नुपर्ने तर्क प्रस्तुत गरे।
“सञ्चारको स्वतन्त्रता र कानुनी अधिकार आवश्यक छ, तर त्यसले अरूलाई क्षति पुर्याउने काम गर्नु हुँदैन,” उनले भने, “यसकारण विधेयक आवश्यक छ, तर यसलाई सकारात्मक ढंगले लिनुपर्छ।”
भण्डारीले मिडिया काउन्सिल विधेयकमा सञ्चार क्षेत्र सुधारको ठोस खाका नउठाइएको भन्दै असन्तुष्टि जनाए। “विधेयकमा कर्मचारी व्यवस्थापन मात्र केन्द्रमा राखिएको छ, तर सञ्चारको विषय छायाँमा परेको छ,” उनले भने।
उनले मिडियासम्बन्धी विधेयक ल्याउँदा समग्र सञ्चार प्रणालीको गुणस्तर, उत्तरदायित्व र प्रविधिको सदुपयोगका पक्षलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। “सञ्चार नीति निर्माण गर्दा शैक्षिक पाठ्यक्रमसम्म यस विषयलाई समावेश गर्न सकिन्छ,” भण्डारीले सुझाव दिए।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया