काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आइतबार आफ्ना नजिकका मन्त्री र सांसदहरूसँग छुट्टाछुट्टै समूहमा भेटघाट तथा छलफल गरेका छन्। पछिल्लो समय सरकारको कामकारबाहीप्रति असन्तुष्टि बढेसँगै कोइरालाले आन्तरिक समीक्षा र रणनीति तय गर्न सक्रियता बढाएका हुन्।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित छलफलमा कोइरालाले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसहित ८ जना सांसदसँग बिहान छलफल गरेका थिए। दिउँसो थप १२ सांसदलाई छलफलका लागि बोलाइएको कोइराला निकट एक सांसदले जानकारी दिए।

advertisement

ती सांसदका अनुसार कोइराला पक्षले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको प्रभावकारिताप्रति असन्तुष्टि जनाएको छ। खासगरी आफ्नै सिफारिसमा सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीप्रति प्रश्न उठेको छ।

“सरकारमा बसेर काम नगर्ने र पार्टीको हैसियत बढाउन नसक्ने मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने कुरा छलफलमा उठेको छ,” ती सांसदले भने, “नेता कोइरालाले गम्भीर समीक्षा गरिरहेका छन्, आवश्यक परे मन्त्रीहरू फिर्ता बोलाउने निर्णय हुन सक्छ।”

छलफलमा सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय अनुशासन समितिबाट १८ जना नेता–कार्यकर्तामाथि गरिएको कारबाहीसमेत विषय बनेको थियो। उक्त कारबाहीको विरोधमा सामूहिक राजीनासमेत दिने विषय छलफलमा उठेको बताइएको छ।

यसअघि कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। यी भेटघाटलाई पनि कांग्रेसको आन्तरिक समिकरणसँग जोडेर हेरिएको छ।

हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ सांसद छन्, जसमा मोहनबहादुर बस्नेत निलम्बनमा छन्। २०७९ पुस ६ गते संसदीय दल नेताको चुनावमा देउवाले ६४ र गगन थापाले २५ मत प्राप्त गरेका थिए।

संस्थापन पक्षका अनुसार कोइरालाको पक्षमा अधिकतम ३० जना सांसद रहेका छन्। संसदीय दलको नेता परिवर्तन गर्न कम्तीमा ४५ सांसदको समर्थन आवश्यक पर्ने प्रावधान रहेको छ। यस्तो अवस्थामा कोइराला समूहभित्रको सक्रियता कांग्रेसभित्र फेरि एकपटक शक्ति सन्तुलनकाे बहस चर्किन सक्ने सङ्केतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com