काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आइतबार आफूनिकट मन्त्री तथा सांसदहरूसँग बेग्लाबेग्लै समूहमा भेटघाट तथा गम्भीर छलफल गरेका छन्।

काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजित छलफलमा कोइरालाले बिहान कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीसहित ८ जना सांसदसँग प्रारम्भिक विचारविमर्श गरेका थिए भने दिउँसो थप १२ सांसदलाई बोलाएर आन्तरिक समीक्षा गरेका हुन्।

advertisement

कोइरालानिकट एक सांसदका अनुसार, संघीय सरकारको वर्तमान गतिविधिप्रति नेता कोइराला असन्तुष्ट छन्। विशेषतः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीहरूको प्रदर्शन अपेक्षाकृत प्रभावकारी नभएको विषय छलफलको केन्द्रमा रहेको थियो।

“सरकारमा बसेर कुनै ठोस परिणाम दिन नसक्ने अवस्था रहिरहेमा आफूले पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने सम्भावनाबारे पनि कोइरालाले संकेत गर्नुभएको छ,” ती सांसदले बताए।

त्यसैगरी, नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सभापति शेरबहादुर देउवाको निर्देशनमा १८ जना नेता–कार्यकर्तामाथि गरेको अनुशासन कारबाहीसमेत छलफलको विषय बन्न पुगेको थियो।

“अनुशासन कारबाही फिर्ता गर्न दबाब दिने रणनीति अन्तर्गत केही सांसदहरूले सामूहिक राजीनामासमेत दिने विषय छलफलमा उठेको छ,” ती सांसदको भने।

पछिल्ला दिनमा नेता कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका छन्, जसलाई सत्तासम्बन्धी चलखेलसँग जोडेर हेरिएको छ।

हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ जना सांसद छन्, जसमा मोहनबहादुर बस्नेत निलम्बनमा छन्।

२०७९ पुस ६ गते संसदीय दल नेताको निर्वाचनमा शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत प्राप्त गरेका थिए। संस्थापन पक्षको दाबीअनुसार, हाल कोइरालातर्फ बढीमा ३० जना सांसद रहेको अनुमान गरिएको छ। संसदीय दलको नेतामा परिवर्तन गर्न कम्तीमा ४५ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com