नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेह (डायबेटिज) को परीक्षण र उपचार निःशुल्क बनाउने सरकारको तयारी रहेको बताएका छन्।
आइतबार गैँडाकोटमा आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सातै प्रदेशमा बालबालिकाको मधुमेह उपचारका लागि निःशुल्क सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिए।
उनले भने, “हामी बालबालिकामा देखिने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने योजनामा छौँ। समाजमा यो रोग उमेर पुगेपछि मात्र हुने भन्ने भ्रम छ, तर बच्चाहरू पनि मधुमेहबाट प्रभावित हुने देखिएको छ।”
मन्त्री पौडेलले नेपालको स्वास्थ्य प्रणालीमा बालमैत्री कार्यक्रमको आवश्यकता औंल्याउँदै वंशानुगत र अन्य बालरोगहरू लक्षित विशेष योजना आवश्यक रहेको बताए। साथै, पछिल्लो समय बालबालिकामा मोबाइल, टिभी, ल्यापटपलगायत डिजिटल उपकरणको अत्यधिक प्रयोगले स्वास्थ्यमा असर पारिरहेको भन्दै उनले आम अभिभावकहरूलाई सचेत रहन आग्रह गरे।
“बालबालिकाको स्वास्थ्य समस्यामा राज्यको जिम्मेवारी अझ बढ्दो छ,” मन्त्री पौडेलले भने, “बच्चा र वृद्धवृद्धाको उपचारको सम्पूर्ण भार राज्यले नै लिनुपर्छ। निजी संस्थामार्फत जिम्मा सारेर समाधान खोज्न मिल्दैन।”
उनले लोककल्याणकारी राज्यको अवधारणाअनुसार बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै उपचारमा सहजीकरण गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने बताए। कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा. सुशील कोइरालाले बालबालिकामा देखिने मधुमेह ‘टाइप १’ हुने जानकारी दिए।
उनका अनुसार, “पाका उमेरमा देखिने मधुमेह (टाइप २) मा शरीरले इन्सुलिन कम मात्रामा उत्पादन गर्छ र औषधिबाट पनि नियन्त्रणमा राख्न सकिन्छ। तर बालबालिकाको टाइप १ मधुमेहमा शरीरले इन्सुलिन उत्पादन नै गर्दैन। उनीहरूको जीवनरक्षा सुइबाट इन्सुलिन दिनैपर्ने हुन्छ।”
नेपालमा हालसम्म ६०० जना बालबालिका मधुमेह टाइप १ बाट प्रभावित भई सूचिकृत छन्, तर अझै ठूलो सङ्ख्यामा बालबालिका निदानबाहिर रहेको डा. कोइरालाको भनाइ छ। उनले नेपालका पाँच अस्पतालमा टाइप १ मधुमेहको उपचार भइरहेको जानकारी दिँदै किशोरावस्थामै रोग देखा पर्ने भएकाले समयमै परीक्षण, सतर्कता र सचेतना जरुरी रहेको बताए।
कार्यक्रममा मधुमेह टाइप १ बाट प्रभावित बालबालिकाहरूले आफ्ना अनुभव साझा गर्दै रोग लागेपछि पनि समयमै उपचार गरिएमा सामान्य जीवन बिताउन सकिने बताएका थिए।
गैँडाकोटको विजय विकास स्रोत केन्द्रको ४७औं स्थापना दिवसका अवसरमा आयोजित सो कार्यक्रममा गैँडाकोट आधारभूत अस्पताल र क्वेस्ट फर्मास्युटिकल्स प्रालिको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रमका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहजस्ता दीर्घरोगबारे जनचेतना अत्यावश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य जोगाउन सन्तुलित आहार र जीवनशैली सुधारको महत्त्वमा जोड दिए।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार












प्रतिक्रिया