रुकुमपूर्व । सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक २३ वर्षीया कोइली शाह मृत फेला परेको घटनामा एक जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पत्रकार परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो।
प्रहरीका अनुसार मृतक शाहको परिवारले खत्रीमाथि किटानी जाहेरी दिएपछि तीन दिनअघि नै अदालतबाट पक्राउ आदेश जारी गरिएको हो। डिएसपी उमाशंकरप्रसाद यादवले खत्री फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिए। “खत्री मोबाइल स्वीच अफ गरेर फरार छन्,” डिएसपी यादवले भने, “हामी निरन्तर खोजीमा छौं।”
शाह असार २८ गते बिहान आफ्नै डेरामा मृत फेला परेकी थिइन्। डेरा भित्रको ढोका खोली हेर्दा उनी झुन्डिएको सल (दोपट्टा) भुइँमा परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि परिवारले शव बुझी अन्त्येष्टि गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया