काठमाडौं । साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि सुनिश्चित गर्न नेपालले आज साँझ बंगलादेशसँग निर्णायक खेल खेल्दैछ। ढाकास्थित किङ्स एरेनामा नेपाली टोली उपाधिका लागि मात्र होइन, प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग भोगेको ३–२ को हारको बदला लिन पनि मैदान उत्रन लागेको हो।
राउण्ड रोबिन चरणको अन्तिम खेल नेपालका लागि ‘गर या मर’को स्थिति रहेको छ। उपाधि जित्न नेपालले आजको खेलमा अवश्य जित निकाल्नुपर्ने छ। बराबरीले पनि नेपाललाई च्याम्पियन बनाउने छैन। अंकतालिकामा हाल बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ। यद्यपि, नेपालले गोल संख्या (३०) मा बंगलादेश (२४)लाई उछिनेको छ, जसले आजको खेलमा जित हासिल गरेमा नेपाललाई उपाधि दिलाउनेछ।
दुवै टोलीले प्रतियोगितामा पाँच–पाँच खेल खेलेका छन्। नेपालले श्रीलंकालाई दुईपटक ७–० ले र भुटानलाई ८–० ले पराजित गरेको छ। पछिल्ला तीन खेलमा नेपाली टोलीले कुनै गोल खाएको छैन, जसले टोलीको रक्षात्मक मजबुतीलाई पुष्टि गर्छ।
नेपालका लागि स्ट्राइकर पूर्णिमा राई १० गोलसहित सर्वाधिक स्कोरर बनेकी छन्। साथै, मीना देउवा, समीक्षा मगर, कुशुम खतिवडा, सोनु परियार, वर्षा ओली, सुक्रिया मिया लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३–२ को हार व्यहोरेको थियो। उक्त खेलमा २–० ले पछि परेको नेपालले अनिशा राईको पेनाल्टी र मीना देउवाको गोलमार्फत बराबरीमा फर्किएको थियो। तर, अन्तिम मिनेटमा गोल खान पुग्दा हार स्वीकार्नुपरेको थियो। आजको खेलमा नेपाली टोली सो पीडाको बदला चुक्याउने दृढ सङ्कल्पसहित मैदानमा उत्रने तयारीमा छ।
खेल आज साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली दर्शक र समर्थकको उच्च अपेक्षाबीच नेपाली टोली उपाधि जितेर स्वदेश फर्कने लक्ष्यमा छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया