काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालयप्रति खुसी व्यक्त गर्दै महामन्त्री गगन थापालाई विशेष धन्यवाद दिएका छन्।
सोमबार पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी मुख्यालयमा पुस्तकालय स्थापना हुनु सकारात्मक र दूरदर्शी पहल भएको बताए।
“गगन थापाजीले केन्द्रीय कार्यालयमै पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभएको छ,” देउवाले भने, “मैले त पुस्तकालय तल राखौँ भनेको थिएँ, उहाँले त माथि राख्नुभएछ। कांग्रेसीहरू त पढ्दैनन् भन्ने पनि सुनिन्छ, अब त माथि जान पनि अल्छी मान्लान् कि भन्ने लाग्छ।”
तर, पुस्तकालयमा उत्कृष्ट पुस्तकहरूको समावेश रहेको भन्दै उनले थापाको प्रयासको खुलेर प्रशंसा गरे। उनले पुस्तकालयले पार्टी कार्यकर्तालाई कांग्रेसको विचार, इतिहास र सिद्धान्त बुझ्न टेवा पुग्ने विश्वास व्यक्त गरे।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागमार्फत पुस्तकालय स्थापना गरिएको हो। कार्यक्रममा पुस्तकालय निर्माणमा योगदान दिने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
पुस्तकालय पार्टीको बौद्धिक विकास र अनुसन्धानमैत्री वातावरण निर्माणतर्फको एक महत्वपूर्ण पाइला हो भन्ने धारणा वक्ताहरूले राखेका थिए।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया