काठमाडौं ।  बंगलादेशको राजधानी ढाका नजिकैको एक विद्यालय भवनमा वायु सेनाको जेट विमान खस्दा कम्तीमा १६ जनाको ज्यान गएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। दुर्घटनामा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

ढाकाको डियाबारीस्थित माइलस्टोन कलेजको परिसरमा चीनमा निर्मित एफ–७ प्रकारको प्रशिक्षण जेट विमान खसेर ठूलो जनधनको क्षति भएको हो। घटना भइरहेका बेला विद्यालयमा कक्षा सञ्चालन भइरहेकाले विद्यार्थीहरु नै बढी प्रभावित भएका छन्।

advertisement

एक जना शिक्षकका अनुसार विमान विद्यालयको अगाडिको तीनतले भवनमा ठोक्किएको थियो। त्यसको प्रहारले भवनको ठूलो भाग क्षतिग्रस्त भएको र दर्जनौं विद्यार्थीहरु भवनभित्र थुनिएका थिए। दुर्घटनापछि कालो मुस्लोको धुँवा र चर्को आगलागी भएको दृश्य टेलिभिजन फुटेजमार्फत देखाइएको छ।

दुर्घटनापछि उद्धारका लागि एम्बुलेन्स र अन्य सुरक्षाकर्मी ढिलो पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। तत्कालै उपस्थित भएका सैनिकहरूले घाइते विद्यार्थीहरूलाई काँधमा बोकेर रिक्सा, मोटरसाइकल र अन्य सवारी साधनमार्फत नजिकको अस्पताल पुर्‍याएको दृश्य सार्वजनिक भएको छ।

घाइतेहरूलाई राजधानीका छुट्टाछुट्टै ६ अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुर्घटनापछि अभिभावक र स्थानीयहरूमा त्रास फैलिएको छ।

बंगलादेश वायु सेनाले दुर्घटनाको पुष्टि गरे पनि विमानका पाइलटले ‘इजेक्ट’ (उडानबाट बाहिर निस्कनु) गरेका थिए वा थिएनन् भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन। दुर्घटनाको कारणबारे पनि हालसम्म केही नखुलेको वायुसेनाले जनाएको छ।

घटनापछि बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले औपचारिक प्रतिक्रिया दिँदै घटनाको गम्भीर छानबिन हुने बताएका छन्। साथै, पीडित विद्यार्थी र परिवारहरूलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने आश्वासन पनि उनले दिएका छन्।

यो दुर्घटना पछिल्लो समय बंगलादेशमा भएको एक गम्भीर वायु दुर्घटना हो जसले देशको हवाई सुरक्षा, सैनिक प्रशिक्षण र सार्वजनिक स्थानको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com