काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई समाजवादी विचारधारामा आधारित सबैभन्दा पुरानो र सुदृढ पार्टीको रूपमा चित्रित गरेका छन्।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै देउवाले कांग्रेसको सिद्धान्त र आदर्श अहिलेको समयको सन्दर्भमा झनै सान्दर्भिक बनेको उल्लेख गरे।

advertisement

“हाम्रो पार्टीको आदर्श र सिद्धान्त अहिलेका प्रतिस्पर्धी दलहरूमध्ये सबैभन्दा मजबुत र जनतामुखी छ,” सभापति देउवाले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादमा आधारित समाजवादी पार्टी हो। यसले ल्याएका मूल्य, विचार र अभ्यासहरूलाई देशभर फैलाउन सक्नुपर्छ।”

उनले संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई मूल मर्मका रूपमा अंगालेको भन्दै कांग्रेसले सबै जातजाति, वर्ग, समुदायलाई प्रतिनिधित्व गर्ने हैसियत राख्ने बताए।

“आजको राजनीतिक संरचनामा सबै समुदायलाई समेट्ने समावेशी सिद्धान्त आवश्यक छ, र कांग्रेस त्यही बाटोमा अघि बढिरहेको पार्टी हो,” देउवाले जोड दिए।

उनले पार्टीमा आदिवासी जनजाति र सबै वर्गका नागरिकलाई प्रभावकारी रूपमा सहभागी गराउँदै, जनताको मन जित्न सक्ने संगठन बनाउनु पर्ने आवश्यकता औंल्याए।

“हामी पुरानो मात्र होइन, विचारमा पनि परिपक्व पार्टी हौँ,” देउवाले भने, “देशभर हाम्रो सिद्धान्त र विचार जनतासम्म पुर्‍याउन सके नेपाली कांग्रेस फेरि बहुमतसहितको शक्तिशाली पार्टी बन्न सक्छ।”

कार्यक्रम नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको थियो।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com