काठमाडौं । गत असार २४ मा भोटेकोशीमा आएको बाढीले ६८ सवारीसाधन बगाएको पाइएको छ । यसमध्ये ४२ वटा विद्युतीय सवारीसाधन बाढीले बगाएको रसुवा भन्सार कार्यालयले तयार पारेको तथ्याङ्क छ । ५ वटा सिनोट्रक ब्रान्डका ट्रक छन् ।

चीनबाट सामान ल्याएर टिमुरेको भन्सार यार्डमा राखिएका १८ वटा मालवाहक सवारी बाढीले बगाएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । बाढीले सुक्खा बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनीका एक–एक वटा टोयोटा हाइलक्स, रोलर र ट्रिपर पनि बगाएको छ । बगाएका सवारी साधनको पार्टपुर्जा नभेटिएको प्रमुख भट्टराईको भनाइ छ ।

advertisement

‘बाढीमा बगेका सवारीमध्ये केही भन्सार जाँच पास भएका र केही हुने क्रममा थिए,’ भट्टराईले भने, ‘अहिले भन्सार कार्यालय आसपास भन्सार जाँच पास भएका र हुने क्रममा रहेका मालबाहक एवं विद्युतीय सवारीसाधन थन्किएर बसेका छन् ।’ चीनबाट नेपालतर्फ आउँदै गरेका डेढ सयदेखि २ सय मालवाहक सवारीसाधन उतै रोकिएको आयातकर्ताले जनाएका छन् ।

ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको थियो । उक्त ठाउँमा चीनले अस्थायी बेलिब्रिज लगाउने तयारी गरिरहेको छ । पुल बनेर सवारीसाधन नेपाल–चीन ओहोरदोहोर गर्न थाले भन्सार जाँचका लागि बस्ने सवारीसाधनका लागि पार्किङ गर्ने ठाउँ नहुने उनको भनाइ छ । भन्सार यार्ड चीन सरकारले बनाएको हो । चीन सरकारको २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा करिब ५८ रोपनी क्षेत्रफलमा दुई वर्षअघि यार्ड निर्माण थालिएको थियो ।

 

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com